लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारियो |

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारिएको छ । स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने, त्यसमा पनि नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने रुपन्देहीका नेताहरूले माग गर्दै आएको भए पनि रातारात मन्त्रालयहरू दाङ सारिएको हो ।
यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थिए भने नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु संरचना तयार नहुँदै मन्त्रालय नसार्न आग्रह गरेका थिए । प्रदेश सांसदहरु लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेको थिए ।
यसअघि नै गृहमन्त्री बालकृष्ण खाणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर लयाउने चेतावनी दिएका थिए । गृहमन्त्री खाणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर आग्रह समेत गराएका थिए । तर यी यावत दबावका बाबजुद पनि मन्त्रालयकाहरु धमाधम दाङ सारिएको छ ।
दाङमा पूर्वाधार निमार्ण गर्ने काम पनि तीब्र रुपमा गरिएको छ । लुम्बिनी प्रदेशको राजधानी लेखिएको बोर्ड समेत तयार गरेर टाँगिएको छ ।
यस्तो थियो किचलो
लुम्बिनी प्रदेशमा स्थायी मुकामबारे दलका नेताहरुबीच किचलो भएको थियो । अस्थायी मुकाम बुटवलबाट स्थायी मुकाम तोकिएको दाङ सार्न प्रदेश सरकारले काम तीब्र पार्दा त्यसको विरोध भइरहेको छ । प्रदेश सभाले निर्णय लिँदा दाङको पक्षमा मतदान गरेका सांसदले समेत अहिले राजधानी सार्न हतार नगर्न भन्दै विरोधमा उत्रिएका छन् ।
वि.सं. २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र दाङको विपक्षमा मदतान गरेका थिए । तत्कालीन बाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए । कांग्रेसको ह्वीपबिरुद्ध दाङका चार कांग्रेसी सांसदले पनि पक्षमा मतदान गरेका थिए ।
अहिले राजधानी सार्न मुख्यमन्त्री कुलप्रसाद केसीले तीब्र रुपमा काम अघि बढाएपछि पहिले पक्षमा मतदान गरेका सांसदहरु नै विरोधमा उभिएका छन् । रुपन्देहीबाट प्रदेश सांसदमा पुनः निर्वाचित भएका नेकपा एमालेका सांसदहरुले अहिले राजधानी नसार्न भन्दै विज्ञप्ति नै निकालेका छन् । काम चलाउ सरकारले राजधानी सार्न नहुने, अब बन्ने नयाँ सरकारले मात्र राजधानीबारे नयाँ निर्णय लिनसक्ने भन्दै उनीहरुले बक्तब्यबाजी गरेका छन् । रुपन्देहीबाट पुनः निर्वाचित एमाले सांसदहरु भोजप्रसाद श्रेष्ठ, लिला गिरी, भूमिश्वर ढकाल र तुलसी चौधरीले आइतबार प्रेस विज्ञप्ति नै जारी गरेर साजधानी सार्ने काम रोक्न आग्रह गरेका छन् । उनीहरूले अस्थायी संरचना समेत दाङ बनिनसकेकोले अहिले राजधानी सार्न नहुने तर्क गरेका छन् ।