‘बिहे दर्तापछि मात्र विवाह गर्न पाउने नीति नबनेसम्म बालविवाह रोकिन्न’ |
दाङ । प्रदेश नं ५ का संघीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति नबनेसम्म बालविवाहको न्यूनीकरण नहुने बताएका छन् । उनले भने, ‘पहिले विवाह दर्ता गर्ने, अनि मात्रै विवाह गर्न पाउने नीति निर्माण गरियो भने मात्रै सानै उमेरमा विवाह गरिदिने समस्याको अन्त्य हुन्छ ।’
समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा तुलसीपुर महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय बालविवाह न्यूनीकरण सम्मेलनमा मन्त्री केसीले त्यस्तो धारणा राखेका हुन् । अब प्रदेश सरकारले त्यस्तो कानून निर्माणमा पनि पहल गर्ने उनको भनाइ थियो । अझै पनि सानो उमेरमा विवाह गर्ने क्रम नरोकिएकाले त्यस्तो कानूनको आवश्यकता खट्किएको उनले बताए ।
प्रदेश नं ५ ले अहिलेसम्म १५ वटा कानून निर्माण गरेको बताउँदै बाँकी कानूनहरू पनि यही २६ गतेदेखि बस्ने प्रदेशसभाको बैठकले निर्माणको प्रक्रियामा अगाडि बढाउने उनले जानकारी दिए ।