१८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा |
काठमाडौं । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ। आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो।
मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको छ। करिब चार अर्ब रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट सोमबारदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले भनाई छ।
निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प,नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको हो। आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत् एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सब स्टेसनमा जडान गर्ने तयारी भइरहेको छ। चौध दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । आयोजनाको ड्याम,टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ। ती सबै काम पूरा भएका छन्। प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए।
तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मङ्सिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटक पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलको जिकिर छ।
रासस