विश्वकप २०२२ः पूर्व विजेताहरु इंग्ल्याण्ड र फ्रान्स भिड्ने भए क्वाटरफाइनलमा |
काठमाडौं । फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा फ्रान्स र इङ्गल्याण्ड भिड्ने भएका छन्। आइतबार राति भएको खेलमा फ्रान्सले पोल्याण्डलाई र साेमबार बिहानकाे खेलमा इङ्गल्याण्डले सेनेगललाई पराजित गदै क्वाटरफाइनलमा स्थान बनाएको हो।
क्वाटरफाइनलमा यी दुई राष्ट्र बीच खेल हुनेछ। जसमा विजयी राष्ट्र सेमिफाइनलमा पुग्नेछ।
आइतबार राति भएको खेलमा फ्रान्सले पोल्याण्डलाई ३–१ ले पराजित गरेको हो। खेलको ४४ औँ मिनेटमा गोल गर्दै जिरुडले अग्रता दिलाएको फ्रान्सका लागि बाँकी दुई गोल किलियन एम्बाप्पेले गरेका हुन्। उनले खेलमा ७४ मिनेट र अतिरिक्त समयको १ मिनेटमा गोल गरेका हुन्। यससँगै एम्बाप्पे यस विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले हालसम्म ४ खेलमा ५ गोल गरेका छन्। सो खेलमा पोल्याण्डका लागि एक मात्र गोल लोवान्डोस्कीले गरेका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्।
सोमबार बिहान १२ः४५ मा भएको खेलमा अफ्रिका कपका पछिल्लो विजेता सेनेगललाई पराजित गर्दै इङ्गल्याण्डले क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको हो। सो खेलमा इङ्गल्याण्डले सेनेगललाई ३–० ले पराजित गरेको हो। इङ्गल्याण्डका लागि हेन्डेर्सनले ३८ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा केनले गरेका थिए। दोस्रो हाफ साकाले तेस्रो गोल गरेपछि सेनेगल इङ्गल्याण्डसँग ३ गोलले पराजित भएको हो।