एक वर्षमा मूल्यबृद्धि १२ प्रतिशत पुग्ने राष्ट्र बैंकले गर्यो प्रक्षेपण |
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी एक वर्षमा मूल्यबृद्धि १२ प्रतिशत पुग्ने अनुमान गरेको छ। केन्द्रिय बैंकले गरेको एक अध्ययन अनुसार तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२ प्रतिशत पुग्ने उल्लेख छ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो। याे सर्वेक्षण २०७९ असोज २३ देखि असोज २९ (अक्टोबर ०९ देखि १५ अक्टोबर, २०२२) सम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तरबार्ता मार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू २०४० व्यक्तिहरूको प्रतिक्रियामा आधारित छन्। अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८९९ थप व्यक्तिहरू थपिएका छन्।
"तीन महिना र एक वर्ष पछिको मध्ये अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ," केन्द्रिय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा लेखिएको छ।
तीन महिना पछिको मध्ये र एक वर्ष पछिको मध्ये अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको केन्द्रिय बैंकले जनाएको छ। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन्। नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको प्रतिवेदनमा उल्लेख छ।।
८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।
आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ ।
खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ ।
खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको छ ।