अझै दुई लाख सेवाग्राहीले पाउन सकेनन् स्मार्ट लाइसेन्स |
काठमाडौं । अझै दुई लाखभन्दा बढि सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाख तीन हजारका लागि भने छाप्न बाँकी रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जानकारी दिएको छ ।
यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उतीर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म ५ लाख ५७ हजार ७०० छ । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो । उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् ।
स्मार्ट प्रमाणपत्र छाप्ने उपकरणको क्षमता कम भएकाले दुई लाखभन्दा बढी सेवाग्राहीले चालक अनुमतिपत्र नपाएको कार्यालयको भनाई छ । एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले समेत अनुमतिपत्र पाएका छैैनन् । उनीहरुले राजश्व तिरेको कागज देखाएरै सवारीसाधन चलाइरहेका छन् । त्यस्तो कागज बलियो नहुने पानीमा भिज्ने पछि अक्षर अक्षर घोटिएर जाने भएकाले हैरान भएको सेवाग्राहीहरुको भनजाई छ ।
चालक अनुमतिपत्रमा भएको चिप (धातुको टुक्रा) उप्कने, वेवसाइड नखुल्ने, ढड्डा र कम्प्युटरमा फरकफरक विवरण हुनेलगायतका समस्या लिएर दैनिक सयौँ सेवाग्राही आउने गरेको कार्यालयले जानकारी दिएको छ ।