चितवन टाइगर्सका खेलाडीको बीमा नेपाल इन्स्योरेन्स कम्पनीले गर्यो |
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले एभरेष्ट प्रिमियर लिग २०१८ मा चितवन टाइगर्सका खेलाडीको बीमा गरेको छ । यही मंसिर २२ देखि पुस ७ गतेसम्म हुन गइरहेको सो टुर्नामेन्टमा चितवन टाइगर्सका खेलाडीहरूको स्वास्थ्य र दुर्घटना बीमा उक्त बीमा कम्पनीले प्रायोयजनस्वरुप गर्ने समझदारी भएको हो ।
सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट डेपुटी सीईओ विक्रान्त पाण्डे र चितवन टाईगर्सको तर्फबाट एक प्रतिनिधिबीच भएको हो । तेस्रो एभरेष्ट प्रिमियर लिग टि–२० टुर्नामेन्टमा त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै आइरहेको कारण खेलको प्रगतिका लागि चितवन टाइगर्सका खेलाडीको बीमा गरिएको पाण्डेले बताए । यस कार्यले खेलकुद प्रतियोगिता आयोजना गर्न सहयोग पनि पुग्ने र खेलाडीको जोखिम हस्तान्तरणका लागि बीमा पनि हुने उनले बताए ।
चितवन टाइगर्स पृथु बाँस्कोटाको कप्तानीसँगै दीपेन्द्र सिंह ऐरी, आयरलाण्डका पल स्टर्लिङ र बेलायतका जोन सिम्पसन, जर्ज स्कट र अन्य उत्कृष्ट खेलाडीको साथ ‘रोर रोर चितवन टाइगर्स’ को नारा लिई यो टुर्नामेन्टमा सहभागी हुन गइरहेको छ ।