‘पत्रकारले विज्ञापनदाताबाहेक अरुलाई विरोध मात्र गर्ने प्रवृत्ति छोड्नुपर्छ’ |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरूले विज्ञापनदाताबाहेक अरुलाई विरोध मात्र गर्ने प्रवृत्तिलाई छोडेर सबै क्षेत्रको आलोचनात्मक सहयोग गर्नुपर्ने धारणा राखे । उनले पत्रकारहरू प्रतिपक्षी दल नभएको बताउँदै सरकारले गर्ने हरेक काम कारबाहीको निगरानी गर्न र राम्रो र नराम्रा दुवै पक्षलाई उत्तिकै पश्रय दिएर समाचार लेख्नु पत्रकारको दायित्व भएको बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौथो महासभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आज त्यस्तो धारणा राखेका हुन् ।
संघको चौथो महासभा राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको छ । महासभाले यसअघिको कार्यसमितिलाई विस्थापन गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ । आर्थिक क्षेत्रका पत्रकारहरूको हकहित र उनीहरूको क्षमता तथा वृत्ति विकासमा सहयोग पुर्याउने उद्देश्यले करिब १० वर्षअघि उक्त संस्था स्थापना भएको हो ।
अर्थमन्त्री खतिवडाले सम्बोधन गरेसँगै नाफिजको बन्दसत्र शुरू भएको छ । उक्त सत्रले पलाधिकारीहरू चयन गर्ने र समापन समारोह आयोजना गर्नेछ ।