आयात घट्दा असोजमा बढ्यो विदेशी मुद्राको सञ्चिति |
काठमाडौं । आयात प्रतिबन्धको प्रभाव बाह्य क्षेत्रमा देखिन लागेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमास (असोज) सम्मको तथ्यांकले बाह्य क्षेत्रमा सुधार देखिन लागेको देखिएको हो ।
केही वस्तुको आयात प्रतिबन्धले घटेको आयात तथा लगातार बढीरहेको रेमिट्यान्सले साउन र भदौमा घटेको विदेशी विनिमय सञ्चिति असोजमा भने बढेको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति भदौमा घटेर ९ अर्ब ३५ करोडमा झरेको थियो । तर, असोज मसान्तमा आउँदा ९ अर्ब ४८ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकी केन्द्रीय बैंक फेडेरले रिजर्भ (फेड) ले बढाएको ब्याजदरका कारण डलर बलियो बन्दा डलरमा विदेशी विनिमय सञ्चिति ०.६ प्रतिशतले घटेको छ । तर, नेपाली मुद्रामा भने बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
नेपाली रुपैयाँमा हिसाब गर्दा भने नेपालसँग रहेको कुल विदेशी विनिमय सञ्चिति गत असारको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । भदौमा ११ अर्ब ८९ करोड १६ लाखमा झरेको कुल विदेशी विनियम सञ्चिति एक महिनाकै अवधिमा राम्रो सुधार देखिएको छ ।
मुलुकमा रहेको कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको ११ खर्ब १ अर्ब ६० करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ४४ अर्ब ६२ करोड रहेको छ । असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाली मुद्रामा भएको अवमूल्यनकै कारणले भएपनि वृद्धि देखिको विदेशी विनिमय सञ्चिति र प्रतिबन्धका कारण घटेको आयातले गर्दा सञ्चिति पर्याप्तता सूचकमा पनि सुधार भएको छ । आर्थिक वर्ष २०७९/८० को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । भदौ मसान्तमा यस्तो सूचक ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो ।
आब २०७८/७९ को पहिलो ३ महिनामा तुलनामा चालु आबको सोही अवधिमा कुल वस्तु आयात १६.२ प्रतिशतले घटेको छ । जसले गर्दा पनि सञ्चिति पर्याप्तता सूचकमा सुधार देखिएको हो ।