विद्युत प्राधिकरणले शुरु गर्यो ‘एडभान्स मिटरिङ’ प्रविधि | अब मिटर रिडिङ गर्न ग्राहकको घर जानु नपर्ने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई मिटर रिडिङ गर्ने भएको छ । प्राधिकरणले एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) प्रविधिको प्रयोग गरेर अफिसबाटै मिटर रिडिङ गर्न सक्ने जानकारी दिएको छ । सो प्रणालीको आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुभारम्भ गरे । प्राधिकरणले त्यस्तो प्रर्णाली पहिलो पटक रत्नपार्क वितरण केन्द्रमा शुरु गरेको बताएको छ ।
विद्युतका ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत प्रयोग गरे र त्यसवापत के कति रकम तिर्नुपर्छ भन्ने जानकारीसमेत उक्त प्रणालीबाट थाहा पाउन सकिन्छ ।
यो प्रणाली रत्नपार्क वितरण केन्द्र मातहत रहेका ३६२ ग्राहकको घर, कार्यालयमा जडान भएको छ । इन्टरनेट सञ्जालबाट सहजै रुपमा ग्राहकको जानकारी लिन, कति विद्युत प्रयोग भयो थाहा पाउन, मिटर बन्द गर्न र खोल्नसमेत सो प्रविधिमा व्यवस्था रहेको छ ।
यस्तो प्रविधि जडानमा औद्योगिक ग्राहकलाई प्रमुख प्राथमिकतामा राखिएको छ । त्यसपछि घरेलु ग्राहकमा उक्त प्रविधि पुर्याइनेछ । सो प्रविधिको प्रयोग पछि विद्युत चुहावट नियन्त्रण गर्न र चोरी नियन्त्रण गर्न सहयोगी हुनेछ ।