क्यासिनो माजोङलाई सर्वोत्कृष्ट सम्मान |
काठमाडौं । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङले दक्षिण एसिया कै सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेवापत प्रदान गरिँदै आएको भारतको सर्वोच्च पुरस्कार ‘१७ औं हस्पिटालिटी इन्डिया, एनुअल इन्टरनेसनल ट्राभल अवार्ड २०२२ को लागि क्यासिनोतर्फ बेस्ट क्यासिनो अफ साउद एसियामा क्यासिनो माजोङ नेपालले उक्त पुरस्कार प्राप्त गर्न सफल भएको हो ।
सो अवार्ड नोभेम्वर ११, मा नया“ दिल्लीमा प्रदान गरिएको थियो । यस्तै, दक्षिण एसियन क्षेत्रका क्यासिनोहरूको महाप्रबन्धक मध्येबाट बेस्ट क्यासिनो जनरल म्यानेजर अफ साउन एसिया २०२२ अवार्डबाट क्यासिनो माजोङका महाप्रबन्धक अमूल्य विक्रम राणा सम्मानित भएका छन् ।
भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामी, पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भाटको प्रमुख आतिथ्यमा हालै भारत नया“ दिल्लीमा भएको समारोहमा क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट क्यासिनो माजोङका महाप्रबन्धक अमूल्य बिक्रम राणालाई उक्त सम्मान प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योग मध्ये सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी वृत्तचित्र प्रस्तुत गरेको थियो ।
२०६९ साल पुस १२ देखि क्यासिनो माजोङ सोल्टी होटलको परिसरमा संचालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड रूपैयाँ चुक्ता पुँजी भएको माजोङ इन्टरटेनमेन्ट प्रालि आफैले क्यासिनो इजाजत पत्र प्राप्त गरी २०७१ माघ २१ देखि सोल्टी होटलको परिसरमा क्यासिनो सञ्चालन गर्दै आएको छ ।
सो क्यासिनोले स्थापनाकालदेखि नै हालसम्म बुझाउनुपर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको र कुनैपनि राजश्व रकम बुझाउन बाँकी नरहेको कम्पनीले दाबी गरेको छ । हालसम्म २८ करोड रूपैयाँभन्दा बढी राजश्व दाखिला गरिसकेको कम्पनीको भनाई छ ।
क्यासिनो माजोङमा करार र दैनिक ज्यालादारी समेत गरी हाल ६ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटन आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी छ भने पर्यटकको बसाईं लम्ब्याउन समेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।