नेप्सेले झेल्दै आएको पूर्ण स्वचालित अनलाईन प्रणालीको समस्या सुल्झियो |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत कात्तिक २० गतेदेखि संचालनमा ल्याएको पूर्ण स्वचालित अनलाईन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको छ । शुरुमा सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए ।
वाइको नेपालले निर्माण गरेको नयाँ प्रर्णालीमा देखिएको समस्या अहिले हटेको छ । स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान भएको हो । नयाँ प्रणाली संचालनमा ल्याउँदा केही जटिलता देखिएको थियो ।, नेप्सेका प्रवक्ता मुरहरि पराजुलीले भने, ʽती सबै समस्या समाधान भएको छ । अहिले नयाँ प्रणाली पूर्णरुपमा संचालनमा आएको छ ।ʼ
धितोपत्र दलाल व्यवसायी तथा लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरीद (विक्री आदेश प्रविष्ट गर्न मिल्ने प्रणाली संचालनमा ल्याइएको थियो । शुरुमा सो प्रणाली सञ्चालन गर्दा ज्ञानको अभाव तथा प्रविष्ट गर्न नजान्दा समेत समस्या देखिएको थियो ।
स्टकको अनलाइन डिस्ल्पे र कारोवार प्रणाली फरक–फरक हुन जाँदा दुविधा पैदा देखिएको थियो । नयाँ प्रणालीमा अभ्यस्त नहुँदा लगानीकर्तामा संशय पैदा भएको थियो । लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीलाई सहज हुने गरी सबै व्यवस्था मिलाइएको र नियमित रुपमा नयाँ प्रणालीको जानकारी दिने तालीम दिइएकाले समस्या समाधान भएको नेप्सेको भनाइ छ ।