प्रभु बैंकका काउण्टर अब सातवटा भन्सार कार्यालयमा |

काठमाडौं । प्रभु बैंक लिमिटेडले सातवटा भन्सार कार्यालयमा आफ्नो काउण्टर स्थापना गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आज भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल–भारत सीमामा रहेका सातवटा भन्सार कार्यालयहरूमा बैंकले काउण्टर स्थापना गरी बैंकिङ कारोबार शुरू गर्ने भएको हो ।
झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले अर्को हप्तादेखि बैंकका काउण्टरहरू सञ्चालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरूको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयातनिर्यातका क्रियाकलापहरूमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा वृद्धि हुने विश्वास लिइएको छ ।