ट्वीटरमा मानव अधिकारको रक्षा गर्न मस्कसँग संयुक्त राष्ट्रसंघको आग्रह |
काठमाडौं । संयुक्त राष्ट्रसंघले ट्वीटरमा मानव अधिकारको रक्षा गर्न इलन मस्कसँग आग्रह गरेको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कले शनिबार ट्वीटरका नयाँ मालिक इलन मस्कलाई खुला पत्रमार्फत ‘ट्वीटरको व्यवस्थापन मानव अधिकार केन्द्रित रहेको सुनिश्चित गर्न’ आग्रह गरेका छन् ।
मस्कले शुक्रबार ट्वीटरका आधा कर्मचारीहरुलाई पदमुक्त गरेका थिए । जसमा मानव अधिकारका लागि जिम्मेवार व्यक्तिहरु पनि परेपछि टर्कले उक्त आग्रह गरेका हुन् ।
टर्कले मस्कको उक्त कदम ‘उत्साहजनक सुरुवात’ नभएको बताएका छन् । साथै, डिजिटल समाजप्रति चिन्ता र ट्वीटरको भुमिकाप्रति आशंका बढेको पनि टर्कले बताएका छन् । अन्य कम्पनीहरू जस्तै ट्वीटरले पनि आफ्नो प्लेटफर्मसँग जोडिएका हानिहरू बुझ्न र तिनीहरूलाई सम्बोधन गर्न कदम चाल्न आवश्यक रहेको टर्कले पत्रमा लेखेका छन् ।
एकै पटक आधा कर्मचारीहरु कटौती गरेपछि मस्कको नेतृत्वमा ट्वीटरको भविष्य कस्तो हुन्छ भन्ने अनिश्चितता बढेको छ ।