मध्यभोटेकोशी स्थानीयका माग पूरा गर्न राजी |
सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीका माग पूरा गर्न सहमत भएको छ । आयोजनाले निर्धारित समयभित्रै काम पूरा गर्ने र आयोजना प्रभावित स्थानीयसँग गरेका लिखित सहमति पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।
आयोजनाले स्थानीयको कुनै माग पूरा नगरेको र स्थानीय सरकारलाई बेवास्ता गरेको भन्दै बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि लिखित उजुरी गरेको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको मध्यस्थतामा आयोजनाका प्रतिनिधि, आयोजना प्रभावित भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका प्रमुख, प्रभावित क्षेत्रका स्थानीयका प्रतिनिधिलगायतसँग भएको संयुक्त छलफलपछि आयोजनाका अधिकारीहरूले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘आयोजनालाई तोकिएको समयमा नै पूरा गर्न हामी प्रतिवद्ध छौं, स्थानीयसँग गरेका सहमति कार्यान्वयन गर्छौं,’ आयोजनाका प्रमुख मणिकुमार काफ्लेले भने । कतिपय निर्णय बोर्डले गर्नुपर्ने भएकाले छलफलमा उठेका सवालहरू बोर्डमा राख्ने उनले बताए ।
यसअघि आयोजनाले गाति, मार्मिङ, मानेश्वाँरासहित साविकका पाँच गाविसमा सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक बजेट दिएर विकासका विभिन्न कामहरू गरिदिन प्रतिवद्धता व्यक्त गरे पनि पछि वास्ता नगरेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।