नेपालबाट बंगलादेशले ५ सय मेगावाट बिजुली लैजान मार्गप्रशस्त | सम्भावित आयोजनाको पहिचान गर्न प्राविधिक टोली गठन गरिँदै
काठमाडौं । नेपाललाई बंगलादेशका लागि बिजुली निर्यात गर्न अब मार्गप्रशस्त भएको छ । हिजो मंगलवार काठमाडौंमा सम्पन्न नेपाल– र बंगालदेश ऊर्जा संयन्त्रको बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् निर्यातसम्बन्धी सम्झौतालाई अनुमोदन गरेसँगै मार्ग प्रशस्त भएको हो ।
सो आयोजनाबाट ५०० मेगावाट विद्युत् लैजान बंगलादेशलाई मार्ग प्रशस्त भएको छ । सो आयोजनाको प्रवद्र्धन भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले गरिरहेको छ ।
गत भदौमा बंगलादेश भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सो आयोजनाबाट विद्युत् खरीद गर्न बंगलादेश सरकार तयार रहेको बताएका थिए । बंगलादेशले भारतीय कम्पनी एनभीभीएनबाट ५०० मेगावाट विद्युत् लैजाने भएको छ । तर, प्रवद्र्धक जीएमआरले वित्तीय व्यवस्थापन गर्न पाएको म्याद गत असोज २ गते नै सकिएको छ । म्याद थपका लागि जीएमआरले लगानी बोर्डमा आवेदन दिएको छ ।
नेपाल र बंगलादेश संयुक्त रूपमा विद्युत् व्यापारको सम्भावना खोज्न सहमत भएका छन् । नेपालमा जलविद्युत् आयोजनाको विकासमा लगानीको सम्भावना, नेपाल र बंगलादेशबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावना र दुई देशबीच नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग गर्नेसम्बन्धी निर्णयसमेत बैठकले गरेको छ ।
बैठकले विद्युत् व्यापारको सम्भावना खोज्न दुवै देशले आफ्नो दीर्घकालीन योजनाको समीक्षा गर्ने र नेपालमा लगानीयोग्य सम्भावित आयोजनाको पहिचान गर्न एक प्राविधिक टोली गठन गर्ने निर्णय पनि गरेको छ । दुवै देशले प्राविधिक टोलीमा रहने सदस्यको नामावली एक महीनाभित्र एकअर्कालाई उपलब्ध गराउने भएका छन् । सोही टोलीले आयोजनाको पहिचान तथा उत्पादन गर्ने विषयमा आवश्यक परामर्श र निर्णय गर्नेछ ।
यसैगरी अन्तरदेशीय विद्युत् प्रसारण लाइनको सम्भावनाबारे अध्ययन गर्न तीन–तीन सदस्यीय संयुक्त प्राविधिक टोली गठन गरिने भएको छ । उक्त प्राविधिक टोलीले प्रसारण लाइनको समग्र अवस्थाका बारेमा अध्ययन गर्नेछ । आगामी एक महीनाभित्र सो टोलीमा रहने सदस्यको नामसमेत एकअर्का मुलुकले उपलब्ध गराउने सहमति भएको छ । संयुक्त समितिको आगामी बैठकमा अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी त्रिपक्षीय व्यवस्था गर्न आआफ्नोतर्फबाट प्राथमिकताका साथ सो विषयको उठान गर्ने सहमतिसमेत भएको छ ।