अबदेखि प्राधिकरणले विजुलीको मिटर कार्यालयबाटै हेर्ने | रत्नपार्क वितरण केन्द्रले उठायो ९२ लाख वक्यौता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना ग्राहकले प्रयोग गरेको विद्युत्को मिटर कार्यालयमै बसेर रिडिङ गर्न सकिने प्रविधि भित्र्याएको छ । उक्त प्रणालीको मंगलवार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुभारम्भ गरेका हुन् ।
प्राधिकरणले एड्भान्स मिटरिङ इन्फ्रास्टक्चर (एएमआई) नाम दिएको उक्त प्रविधिको प्रयोग गरेर ग्राहकको घर तथा कार्यालयमा नगईकन नै मिटर रिडिङ गर्न सकिने बताएको छ ।
विद्युत्का ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियम जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसबापत के कति रकम तिर्नुपर्छ भन्ने जानकारीसमेत उक्त प्रणालीबाट पत्ता लगाउन सकिने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिरकणले त्यस्तो प्रणाली पहिलो पटक रत्नपार्क वितरण केन्द्रमा शुरू गरेको वितरण केन्द्रका इञ्जिनीयर दृष्टि पाण्डेले बताए । उनका अनुसार सो प्रणाली रत्नपार्क वितरण केन्द्रमातहत रहेका ३६२ ग्राहकको घर, कार्यालयमा जडान भएको छ । इन्टेरनेट सञ्जालबाट सहजै रूपमा ग्राहकको जानकारी लिन, कति विद्युत् प्रयोग भयो भन्ने थाहा पाउन, मिटर बन्द गर्न र खोल्नसमेत सो प्रविधिमा व्यवस्था गरिएको छ ।
रत्नपार्क वितरण केन्द्रका प्रमुख थीरकुमार खत्रीले प्रविधिको प्रयोग गर्दै ग्राहक तथा प्राधिकरणका कर्मचारीलाई पनि सहज रुपमा काम गर्ने वातावरण बनाउन उक्त प्रविधि लागू गरिएको बताए । उनका अनुसार पहिलो पटक प्रयोगमा ल्याएको उक्त प्रविधि जडानमा औद्योगिक ग्राहकलाई प्रमुख प्राथमिकतामा राखिएको छ । त्यसपछि घरेलु ग्राहकमा उक्त प्रविधि पुर्याइनेछ । सो प्रविधिले गर्दा विद्युत् चुहावट र चोरी नियन्त्रण गर्न सजिलो हुने प्राधिकरणले बताएको छ ।
रत्नपार्क वितरण केन्द्रले रू. ९२ लाख वक्यौता उठायो
रत्नपार्क वितरण केन्द्रले विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काटेर रू. ९२ लाख बक्यौता उठाएको जानकारी पनि दिएको छ ।