राष्ट्रिय बीमा संस्थानले आईपीओ निष्काशन गरेर चुक्ता पूँजी पुर्याउने |
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको छ । बीमा ऐन २०७९ लागु भएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेज भएपछि संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने भएको हो ।
नयाँ बीमा ऐन अनुसार बीमा प्राधिकरण स्थापना भएको एक वर्ष भित्र संस्थान पब्लिक कम्पनी लिमिटेडमा परिणत गर्नुपर्नेछ । संस्थानमा कार्यरत कर्मचारीहरु, चल अचल सम्पत्ति र दायित्वहरु समेत स्वतः कम्पनीको हुनेछ ।
यसैगरी, संस्थानबाट जारी भएका बीमालेखहरु समेत कम्पनीबाट जारी भएको मानिने नयाँ बीमा ऐनमा उल्लेख छ ।
यस अघि राष्ट्रिय बीमा संस्थान ऐन सकृय रहेकोले संस्थानलाई न्यूनतम चुक्ता पूँजी पुर्याउन समेत छुट थियो । तर अहिले संस्थान ऐन खारेज भएर नयाँ बीमा ऐन लागु भएर पब्लिक कम्पनीमा परिणत भएपछि प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी समेत कायम गर्नुपर्नेछ ।
हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्रै रहेको छ । संस्थान कम्पनीको रुपमा परिणत भएपछि न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।
संस्थानको हालको चुक्ता पुँजी १८ करोड १० लाख रूपैयाँ रहेको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई चैतभित्र ५ अर्ब रूपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको छ । त्यस अनुसार संस्थानले ४ अर्ब ८१ करोड ८९ लाख रूपैयाँ पूँजी थप्नु पर्ने देखिन्छ ।
संस्थान कम्पनीको रुपमा परिणत भएपछि सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने बाटो खुल्नेछ । त्यस अनुसार संस्थानले सर्वसाधारणलाई शेयर निष्काशन गरेर न्यूनतम चुक्ता पूँजी पुर्याउने योजना बनाएको छ ।
हाल संस्थानमा सरकारको २७.७८ प्रतिशत, राष्ट्र बैंकको ५५.५५ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
बीमा ऐन २०७९ असोज २३ गते राष्टपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन । राष्ट्रिपतिद्धारा स्वीकृत भएको ३१ दिन भित्र ऐन लागु हुने व्यवस्था छ । त्यस अनुसार बीमा ऐन कात्तिक २२ गते देखि लागु हुनेछ ।