चुनाव प्रचार आजदेखि, राजनीतिक दल तथा उम्मेदवारले जुलुस र आमसभा गर्न पाउने |
काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् ।
चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा गएका छन् । सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी आयोगले देउवालाई चुनाव प्रचारको अनुमति दिइसकेको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । ओलीले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका हुन् । निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा चुनाव प्रचार गर्न जानु परेमा आयोगबाट अनुमति लिनुपर्दछ । मन्त्री नै उम्मेदवार भए सरकारी स्रोत साधन प्रयोग नगरी चुनाव प्रचार गर्न पाइन्छ । स्थानीय तहका जनप्रतिनिधि भने चुनाव प्रचारमा संलग्न हुन पाइँदैन । उम्मेदवारको प्रचारमा गएका काठमाडौं महानगरपालिका वडानम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई आयोगले ५ हजार जरिवाना गरिसकेको छ ।
आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उम्मेदवारहरुले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका बाहेक अन्य आश्वासन, प्रलोभन दिनसमेत पाउँदैनन् । आयोगले आचारसंहिता उल्लंघन नगरी र खर्चको सीमाभित्र रही चुनाव प्रचार गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई स्मरण गराएको छ ।
आयोगले यसअघि आचारसंहिता उल्लंघन गरेका ७१ जनालाई व्यक्ति र संस्थालाई स्पष्टीकरण मागेको छ । तिनीहरुमाथिको कारबाही प्रक्रिया २५ गतेभित्र टुंगो लगाउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।
आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ “निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म)मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसारसमेत गर्न सकिने ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।
जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेको आयोगले जनाएको छ ।
साथै आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गराउन आयोगले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सात बुँदे निर्देशन दिएको हो ।