एनआईसी एशिया ब्यालेन्स फण्डले कमायो करिब ३ करोड नाफा |
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ब्यालेन्सड् फण्डले असोज मसान्तसम्म रू. २ करोड ९६ लाखभन्दा बढी नाफा गरेको छ । भदौ मसान्तसम्मको तुलनामा भने असोज महिनामा फण्डको नाफा घटेको हो ।
भदौ मसान्तसम्म फण्डले रू. ३ करोड १४ लाखभन्दा बढी नाफा गरेको थियो । भदौ महिनाको तुलनामा यो महिना फण्डको आम्दानी घटेकाले नाफामा असर पुगेको हो । भदौ मसान्तसम्म रू. ३ करोड ४४ लाखभन्दा बढी आम्दानी गरेको फण्डले असोज मसान्तसम्म रू. ३ करोड ४० लाखभन्दा बढी मात्र आम्दानी गरेको हो ।
असोज मसान्तसम्म फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ११ दशमलव ८८ रहेको छ । भदौ मसान्तसम्म यो मूल्य रू. ११ दशमलव ९० थियो । प्रति इकाई खुद सम्पत्ति मूल्य घटेको फण्डको खुद सम्पत्ति रू. ८९ करोड ६६ लाखभन्दा बढी रहेको छ । भदौ मसान्तसम्म रू. ८९ करोड ८४ लाखभन्दा बढी रहेको फण्डको खुद सम्पत्ति असोज महिनामा घटेको हो ।
बन्दमुखी प्रकृतिको १० वर्षे अवधिको यस फण्डले धितोपत्र र बैंक मुद्दती निक्षेपमा गरको कुल लगानी रू. ७१ करोड १६ लाखभन्दा बढी रहेको छ । बैंक मुद्दती निक्षेपमा फण्डले रू. ९ करोड लगानी गरेको हो । फण्डले असोज मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. ५९ करोड ९ लाखभन्दा बढी रहेको छ ।
फण्डले धितोपत्रमा गरेको लगानीको लागतभन्दा बजारमूल्य बढी रहेको देखिन्छ । बैंक मुद्दती निक्षेप छुट्याएर फण्डको कुल लगानीमूल्य रू. ६२ करोड १६ लाख रहेको छ । यो फण्ड सञ्चालनका लागि योजना व्यवस्थापकले ७ करोड ५५ लाख इकाई जारी गरेको थियो ।