खुल्यो एभरेष्ट इन्स्योरेन्सको हकप्रद | १०५ प्रतिशत हकप्रदसँगै चुक्ता पूँजी २७ करोड नाघ्ने
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले मंसिर १६ गतेदेखि संस्थापक शेयरधनी कायम हुने गरी चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुका लागि एक कित्ता बराबर १ː०५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरमा १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर निष्कासन गरेसँगै चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।
हकप्रद निष्कासनसँगै संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारण तर्फ ४८.७८ प्रतिशत पुग्नेछ । कम्पनीले पुष २२ गतेसम्म हकप्रद शेयर निष्कासन गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
बीमा समितिको निर्देशन अनुसार एक अर्ब रुपैयाँ पूँजी जुटाउनुपर्ने भएकोले कम्पनीले जारी पूँजी बृद्धि गरी एक अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीले यस अघि ६०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेको भएपनि धितोपत्र बोर्डले शेयर संरचनामा सर्वसाधारण र संस्थापक दुबै हुनुपर्ने भन्दै रोकेको थियो । यससँगै कम्पनीले पहिलो चरणमा संस्थापकका लागि हकप्रद र दोस्रो चरणमा ३०० प्रतिशत हकप्रद निष्काशन गरि पूँजी जुटाउने योजना बनाएको छ ।
हकप्रद आवेदनका लागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।