धौलागिरी यातायात पनि अनलाईन टिकेटिङमा | अब बाग्लुङदेखि मुस्ताङसम्मका यात्रुले काउन्टरमा धाउन नपर्ने

काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको सनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो ।
यो सँगै अबदेखि पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्नेछन् । धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो ।

साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ शुरू गरेको बताउनुभयो । उनले भने, ‘यातायात क्षेत्रलाई पनि अब प्रविधीमैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । हामीले अनलाइन टिकेटिङलाई थप व्यवस्थित् बनाउँदै अब सबै कुरालाई अटोमेशनमा लैजानेछौँ । ’
यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।