अब श्रम इजाजत लिन अनलाइन टोकन |
काठमाडौं । अब श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ । श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली शुरु गरेको हो ।
नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ । हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमएस) मा अनलाइन आवेदन भर्नुपर्छ ।
पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ । त्यसैलाई व्यवस्थापन गर्ने गरी अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन शुरु गरिएको हो ।
अब त्यसमै टोकन नम्बर उल्लेख गर्ने व्यवस्था गरिएको छ । अब यसमै तोकिने मिति र समयमा मात्र सेवा ग्राही विभागमा सेवा लिन जान सक्छन् ।
तोकिएको समयमा तोकिएका सोव ग्राही मात्रै आउादा एकैपटक कार्यालयमा भीड जम्मा नहुने अपेक्षा गरिएको छ । अनलाइन टोकन सुरु भएपछि बिचौलियाको चलखेल पनि घट्ने अपेक्षा विभागको छ ।
पछिल्लो समयममा कार्यालय व्यवस्थापनमा पनि ध्यान दिइएको छ । परिसरभित्र पिउने पानीको व्यवस्था गरिएको छ भने बस्ने बेन्चहरु थपिएका छन् । कार्यालयमा आउने सेवाग्राहीलाई बस्न सहज होस भनेर थप पूर्वाधार निर्माणको योजना बनाइएको छ ।