भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य |
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर १५ रुपैयाँ ६० पैसा, हवाई इन्धन १० रुपैयाँ २५ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा बढेर आएको निगमले जनाएको छ ।
बढेर आएको मूल्य अनुसार निगमले डिजेलमा अझै प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र एलपी ग्याँसमा ३२५ रुपैयाँ ४४ पैसा प्रति सिलिन्डर घाटा रहेको जनाएको छ ।
यता, निगमले पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने नाफालाई गणना गर्दा समग्रमा आगामी १५ दिनमा करीब ३९ करोड नाफा हुने प्रक्षेपण गरेको छ । हालसम्ममा निगमले भारतीय आयल कर्पोरेसन, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको अवस्था छ ।
निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग ७ अर्व र राष्ट्रिय वाणिज्य वैकसँग ३ अर्व ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आईरहेको पनि जनाएको छ ।