विवादित एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्वोधन |
काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेकको विवादास्पद एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा शुरू भएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।
समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताएका छन् । हाम्रा पूर्वज ऋषिमुनिबाट धेरै कुराहरु सिक्न सकिने भन्दै प्रधानमन्त्री ओलीले नैतिक रुपमा आत्मसमर्पण नगरिने प्रतिवद्धतासमेत जनाएका छन् । हिमालयमा अवस्थित यो प्राचीन शहरले पूर्वज ऋषिमुनिहरूको ज्ञानको माध्यमबाट हाम्रा सन्ततिहरुको जीवनलाई कसरी उज्वल बनाउने भन्ने बारेमा धेरै सिकाउन सकिने ओलीको भनाई थियो ।
‘विश्वका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य−मान्यता’ नाराका साथ सम्मेलन आयोजना गरिएको छ । ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता छ । आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले नेपालका सबै राजनीतिक दलका नेताहरु, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत कार्यक्रममा निम्तो दिएको छ । कार्यक्रममा १५ सय विदेशी अतिथी सहभागी हुने बताइएको छ ।
गरिबी, आतंकवाद, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर−धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिका, विश्वव्यापी शान्ति प्रक्रिया, शान्ति परियोजनालगायतका विषयमा सम्मेलनको बिभिन्न सत्रमा छलफल हुने आयोजकले जानककारी दिएका छन् ।