ब्याजदर वृद्धिले व्यवसायी मर्कामा : अध्यक्ष मल्ल |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगी, व्यवसायी मर्कामा परेको बताउँदै बैंकहरूको स्प्रेड दर सीमा घटाउन सुझाव दिएका छन् । बैंक वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ % प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताए । उनले भने ‘हाल विद्यमान स्प्रेड दर ४.४% बाट १ % घटाउने एवम् कर्जाको आधार दरमा अधिकतम २ % सम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा ब्याजदर घट्न सक्छ ।’
उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा महङ्गीले पनि जनतामा असर गरेको बताए । कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनाएको उनको भनाइ छ ।
स्थानीय प्रदेश तथा संघीय सरकार अन्तर्गतका निकायहरुको खातामा रहेको पुँजीगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५% रकमलाई वाणिज्य बैंकमार्फत् कर्जा प्रवाह हुने व्यवस्था गर्न अध्यक्ष मल्लले सुझाव दिए । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भएपनि बढ्दो ब्याजदरका कारण अर्थतन्त्र नै धरासयी हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगायत तेस्रो मुलुकमा नियमित हवाई उडान गर्नका लागि उचित पहल गरिनुपर्नेमा जोड दिए ।