अब बैदेशिक रोजगारीमा जानेलाई प्रदेशबाटै श्रम स्वीकृति | वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालयको स्थापना
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालयको स्थापना गरिएको छ । वीरेन्द्रनगरमा कार्यालयको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अब कर्णालीका नागरिकले काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । वैदेशिक यात्राको क्रममा सास्ती र झन्झटिलो प्रक्रिया खेप्दै आएका कर्णालीबासीका लागि अब श्रम स्वीकृतिको काम यसै कार्यालयबाट हुने उनले बताए ।
संघीय श्रम मन्त्रालय मातहतको यो कार्यालयले श्रमिक र रोजगारदातासँग सम्बन्धित सुविधा र सुरक्षाको विषयमा सेवा प्रवाह गर्नेछ । राजधानीमा स्थापना भएको श्रम तथा रोजगार कार्यालयले तत्कालका लागि श्रमसम्बन्धी विवादको निराकरण, बालश्रम निवारण, ट्रेड युनियन दर्ता नवीकरण, श्रम ऐन कार्यान्वयनको अनुगमन तथा कारबाही लगायत काम गर्ने जनाइएको छ ।
वैदेशिक रोजगारमा जानेका लागि प्रदेशस्तरबाटै श्रम स्वीकृत दिने व्यवस्था लागू गर्न भने केही समय लाग्ने कार्यालयले जनाएको छ । अहिले तत्काल कार्यालयबाट श्रमसम्बन्धी विवादको निराकरण, बालश्रम निवारण, ट्रेड युनियन दर्ता नवीकरण र श्रम ऐन कार्यान्वयको अनुगमन तथा कारबाहीको काम हुने छ ।