३ महिनामा १ अर्बको बैदेशिक लगानी प्रतिबद्धता |
काठमाडौ । चालु आर्थिक वर्षमा वैदेशिक लगानीको प्रतिबद्धता निकै कम देखिएको छ। गएको ३ महिनामा १ अर्ब रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको छ।
उद्योग विभागको तथ्याँक अनुसार असोज २४ गतेसम्ममा ४ क्षेत्रका ७ परियोजनामा १ अर्ब ३० करोड रुपैयाँको मात्रै बैदेशिक लगानीको प्रतिबद्धता आएको छ। यस अवधिमा सेवा क्षेत्रमा सबैभन्दा धेरै १ अर्ब १० करोड रुपैयाँ बैदेशिक लगानी प्रतिबद्धता आएको छ भने उत्पादनमूलक क्षेत्रमा १० करोड र पर्यटन र सूचना तथा प्रविधि क्षेत्रमा ५-५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
चालु आर्थिक वर्षमा चीन, भारत, बंगलादेश र सिंगापुरबाट लगानीको प्रतिबद्धता आएको छ जसमा सिंगापुरबाट सबैभन्दा धेरै ९५ करोड रुपैयाँको बैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागको तथ्याँकले देखाउछ।
गत आर्थिक वर्षको यसै अवधिमा ६ वटा क्षेत्रमा ११२ वटा परियोजनामा २५ अर्ब १८ करोड रुपैयाँको बैदेशिक लगानीको प्रतिबद्धता आएको थियो। गत वर्षको तुलनामा यस वर्ष लगानी प्रतिबद्धता निकै कम रहेको देखिन्छ।
विगतका वर्षहरुमा पनि लगानी प्रतिबद्धता आए पनि त्यसको अनुपातमा प्रत्यक्ष बैदेशिक लगानी भने निकै कम भित्रिने गरेको छ। गत आर्थिक वर्षमा कुल ५५ अर्ब २७ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएकोमा १८ अर्ब ५६ करोड रुपैयाँ प्रत्यक्ष बैदेशिक लगनी भित्रिएको छ।
चालु आर्थिक वर्षको पहिलो महिना पनि प्रत्यक्ष बैदेशिक लगानी झण्डै डेढ अर्ब रुपैयाँले ऋणात्मक छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार पहिलो महिना प्रत्यक्ष बैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक छ। गत आर्थिक वर्षको पहिलो महिना खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रहेको थियो।