गुराँस लघुवित्तको आइपीओ एनआईबीएल एस क्यापिटल मार्फत आउने |
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले २ करोड ५० लाख बराबरको आइपीओ निष्काशनको प्रक्रिय अगाडि बढाएको छ । जसका लागि कम्पनीले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
लघुवित्तले प्रति शेयर एक सय रुपैयाँ अंकित दरका २ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
सो शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा गुराँस लघुवित्त वित्तीय संस्थाकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबीएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।
गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी १० करोड, जारी पूँजी ७ करोड ७५ लाख र चुक्ता पूँजी ५ करोड २५ लाख रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख हुनेछ । २०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट ʽघʼ वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवारको गर्दे आएको छ ।
धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्ला भित्र २२ वटा शाखा कार्यालय मार्फत करिव ११ हजार विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्घ गरी करिव ७ करोड बचत संकलन तथा करिव ४९ करोड कर्जा प्रवाह गरेको छ ।