१३ प्रतिशतले घट्यो देशको आयात, व्यापार घाटा २ खर्ब ७३ अर्ब |
काठमाडौं । सरकारको आयात नियन्त्रणको प्रभाव आयात व्यापारमा देखिएको छ । चालु आवको भदौ महिनामा नेपालको आयात व्यापार अघिल्लो आवको सोही महिनाको तुलनामा १३.०१ प्रतिशतले घटेको छ ।
नेपालले अघिल्लो आवको भदौ मसान्तसम्म ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको सामान आयात गर्ने गरेकोमा चालु आवको भदौ मसान्तसम्म २ खर्ब ७३ अर्ब ५९करोड रुपैयाँ बराबरको मात्रै सामान आयात गरेको छ । चालु आवको पहिलो महिनादेखि नै आयात व्यापार र व्यापार घाटामा समेत गिरावट देखिएको छ ।
चालु आवको भदौसम्म नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९.४५ प्रतिशतले कम हो ।
नेपालले चालु आवको पहिलो दुई महिनामा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३४.८८ प्रतिशतले कम हो । अघिल्लो वर्ष भदौ मसान्तसम्म नेपालले ४४ अर्ब ३ करोड रुपैयाँको सामान निर्यात गरेको थियो ।
नेपालको कुल आयात, निर्यात र व्यापार घाटामा कमी आउँदा कुल व्यापारसमेत १५.७० प्रतिशतले गिरावट देखिएको छ । गत वर्ष ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँको व्यापार भएकोमा यस वर्ष १५.७० प्रतिशतले घटेर ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष ७.१४ गुणा रहेको आयात निर्यात अनुपात अहिले ९.१४ गुणा पुगेको छ भने कुल व्यापारमा निर्यातको हिस्सा १२.२८ प्रतिशत रहेकोमा चालु वर्षको भदौ मसान्तमा ९.४९ प्रतिशतमा सिमित हुन पुगेको छ ।