भृकुटीमण्डपमा आजदेखि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ शुरू | प्रचण्ड र आङ साङ सुकीले गरे उद्घाटन
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आजदेखि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ शुरू भएको छ । उक्त एक्स्पोको नेकपाका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ र म्यानमारकी स्टेट कन्सुलर आङ साङ सुकीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
सहआयोजक म्यानमार रहेको उक्त मेलामा भीर मौरीको मह, पश्मिना, काष्ठकलाका सामग्री, गहना, गलैंचा, किताबहरू, नेपाली पोशाक, खानेकुरालगायतका सामग्रीहरू प्रदर्शनी तथा विक्रीका लागि राखिएको छ ।
मेलामा नेपालसहित म्यानमार, चीन, कोरिया, थाइल्याण्ड, मलेशिया, भारत, पाकिस्तान, जापानलगायत देशका स्टलहरू रहेका छन् । ६० प्रतिशत नेपाली वस्तुका स्टल रहेको उक्त मेलामा त्यसपछि धेरै स्टल म्यानमारका रहेका छन् । त्यसै गरी चीनका १५ वटा स्टल रहेकाछन् ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौमा भएको यो मेलाले आर्थिक क्रियाकलापमा नयाँ आयाम थप्ने बताए ।
कार्यक्रममा नेकपाका अध्यक्ष दाहालले नेपालले लामो समयको राजनीतिक उतरचढाव बेहोरेको नेपालले बल्ल अब राजनीतिक स्थायित्व पाएको बताए । उनले राजनीतिक स्थायित्वसँगै आर्थिक विकासमा लाग्नुपर्ने सुझाव दिए । विस्तारै नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न उद्योगीलाई उनले आग्रह गरे ।
म्यानमारकी स्टेट कन्सुलर आङ साङ सुकीले एक्स्पोले दुई देशको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउन बताइन् । नेपाल र म्यानमारबीच ३२ करोड ३१ लाख रुपैयाँबराबरको व्यापार छ । म्यानमारबाट नेपालमा कृषिजन्य र वनसम्बन्धी सामग्रीहरू आयात हुने गरेको छ भने नेपालबाट तयारी पोशाक, गलैंचालगायतका सामग्री निकासी हुन्छ ।