राष्ट्र बैंकले सोझै खरिद गर्दै ४० अर्बको ट्रेजरी बिल |
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।
बैंकले बोलकबोल प्रक्रियाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको यो ट्रेजरी बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार असोज ७ गते ट्रेजरी खरिद गर्नेछ । बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण सोझै खरिद हो । यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछन् ।
त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ । राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ ।