तीन दिने महिला नेतृत्व शिखर सम्मेलन गर्दै नेपाल उद्योग परिसंघ |
काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी सम्मेलन आगामी पुस २९ देखि माघ १ गतेसम्म (जनवरी १३, १४ र १५) मा महिला नेतृत्व शिखर सम्मेलन (Women's Leadership Summit 23) आयोजना गर्ने भएको छ ।
परिसंघको महिला नेतृत्व मञ्च वुमेन लिडरसीप फोरमको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो ।
कोभिड-१९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको छ ।
सम्मेलनको उद्देश्य कोभिड–१९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल।र समाधान खोज्ने रहेको छ । यसैगरी सम्मेलनलाई लैङ्गिक समानताका विषय सहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रुपमा प्रयोग गरिनेछ ।
परिसंघले पहिलो पटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउनेछ । सम्मेलनमा नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान, र परिवर्तनका संवाहक महिला विषयमा छुट्टा छुट्टै सत्रमा छलफल हुनेछ । शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ ।
सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरण लगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरुको सहभागिता हुने सीएनआईले जनाएको छ ।