लगानीको प्रतिफल सुनिश्चितता गर्न टेलिकमका चार ट्रेड युनियनको ध्यानाकर्षण |
काठमाडौँ । नेपाल टेलिकममा क्रियाशील ४ वटै ट्रेड युनियनले आज आगामी २०७९ मङ्सिर ४ देखि गते कतारमा सञ्चालन हुन लागेको FIFA World Cup 2022 का ६४ वटै खेलको प्रसारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा NTTV मा OTT मार्फत गर्न को लागि सञ्चालक समितिबाट हतारोमा सैद्धान्तिक सहमति दिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव मणि कुमार पोखरेलले दिनु भएको जानकारी अनुसार नेपाल टेलिकमका प्रवन्ध निर्देशकलाई एक ध्यानाकर्षण पत्र दिँदै ध्यानाकर्षण गरिएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ' आगामी २०७९ मंसिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको FIFA World Cup 2022 का ६४ वटै खेलको प्रशारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा NTTV मा OTT मार्फत गर्नको लागि मिति २०७९ भाद्र २४ गते बसेको सञ्चालक समितिको बैठकबाट सैद्धान्तिक सहमति दिएको भन्ने जानकारी प्राप्त हुन आएकोमा तत् सम्बन्धी केही प्रश्न/जिज्ञासाहरु उत्पन्न भएका र सोको स्पष्ट निराकरणका आधारहरु प्राप्त हुन नसकेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।'
उक्त विषयमा नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्क अनुसार ग्राहकको FIFA World Cup 2022 प्रतिको अभिरुची, शहर तथा ग्रामिण ग्राहकको Screen Size प्राथमिकता, NTTV सँग हुने राजस्व साझेदारीमा प्रभाव जस्ता व्यापारमा महत्वपूर्ण प्रभाव पार्ने तत्वहरुको वस्तुपरक विश्लेषण सहित कम्पनीको व्यावसायिक योजना एवं लाभ लागत, विश्लेषण गरेर मात्र व्यावसायिक योजना बनाउन सकेमात्र त्यस्ता व्यावसायिक योजना अर्थपूर्ण हुने, नत्र त्यस्ता योजना व्यापार घाटाको कारण मात्र बन्ने यथार्थलाई सबैले स्विकार्नु पर्दछ भन्दै व्यवस्थापनको ध्यानाकर्षण गरिएको छ ।
ध्यानाकर्षण पत्रमा 'तसर्थ करीव २४ करोडको लागत सहित व्यापारिक योजनाको लागत संरक्षण र सोको Rate या Return को स्पष्ट आधार एवं IT क्षेत्रको सेवाको Proxy Server मार्फत हुनसक्ने चुहावट तथा अन्य सेवा प्रदायकहरु समेतबाट सोको प्रशारण बाट अपेक्षित व्यापार हुन सक्ने/ नसक्ने यथार्थलाई तथ्यगत रुपमा Calculation गरेर यस्तो व्यापार गर्नु वाञ्छनीय हुनेछ । अन्यथा नेपाल टेलिकमले अङ्गीकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलील खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाँदा समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमा समेत प्रत्यक्ष असर पर्ने र यस्ता योजनाहरु ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने हुँदा यस्तो योजनाको विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधार सहितका तथ्य एवं त्यस्ता योजनाको सफलताको लागि युनियनले समेत खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष हार्दिक अनुरोध गर्दछौं ' भनिएको छ ।
ध्यानाकर्षण पत्रको अन्तमा 'यस्ता प्रस्तावहरूमा सरोकारवालाहरु वीच व्यापक छलफल गरि निर्णय गर्न र यस प्रस्तावमा लगानी अनुरुपको प्रतिफल प्राप्त हुने सुनिश्चितता अध्ययन नगरि उक्त विषय अगाडि नबढाउन हुन सम्बन्धित पक्षमा गम्भीर ध्यानाकर्षण गर्दछौं' भनिएको छ ।