दशैंका लागि अग्रिम टिकट बिक्री खुला, अनलाइनबाट पनि बुकिङ गर्न सकिने | बसपार्कमा टिकट बुकिङ गर्नेहरूको भीड
काठमाडौं । दशैंका लागि आज शनिवार (असोज १ गते) देखि अग्रिम टिकट बुकिङ खुला भएको छ । भदौ २२ गते यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त बैठकले असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला निर्णय गरेको थियो । सोही अनुरुप दशैंमा घर जाने यात्रुहरूले आजदेखि टिकट बुकिङ गर्न पाउनेछन् ।
अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने छ । दशैंमा घर जानका लागि यात्रुहरूका लागि सहज होस् भनेर वर्षेनी दशैंअघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ ।
काठमाडौंको गोङ्गबु बसपार्कमा बसको अग्रिम टिकट बुकिङ गर्नेको भीड लागेको छ । आजदेखि बुकिङ खुलेपछि बिहानैदेखि टिकट लिनेहरूको भीड लागेको छ ।
यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा छ ।
बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।