विदेशी मुद्रा सञ्चितिले ८ महिनाको वस्तु तथा सेवा आयात धान्ने |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात १२.९% ले कमी आएर १ खर्ब ३१ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७% ले बढेको थियो ।
यता, कुल वस्तु निर्यात पनि साउन मसान्तमा २८.७% ले घटेर १४ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने निर्यात ११५.९% ले वृद्धि भएको थियो ।
यता, विदेशी मुद्रा सञ्चिति भने केही दबाबमा परेको छ । असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति १.२% ले घटेर साउन मसान्तसम्म ९ अर्ब ४२ करोड अमेरिकी डलर कायम भएको छ ।
असार मसान्तसम्म भने ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको थियो । साउन मसान्तसम्मको विदेशी मुद्रा सञ्चितिले ८ महिनाको वस्तु तथा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।