आजदेखि एमडीएमएस कार्यान्वयनमा, दर्ता नभएका मोबाइल नचल्ने |
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आज (भदौ ३० गते) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गरेको छ ।
प्राधिकरणले विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित एमडीएमएस कार्यान्वयन गर्न थालेको हो । प्रधिकरणले आज एक कार्यक्रम गरेर एमडीएमएस कार्यान्वयनको सुरुवात गर्दैछ ।
मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्रयाकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको हो । यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोबाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खन्डमा नेपालमा ती मोबाइल सञ्चालन हुने छैनन् ।
प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।
यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।
प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वत: दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।
मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । त्यसका लागि MDMS.nta.gov.np मा गएर हेर्न सकिनेछ ।
मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।