दुई लघुवित्तका नबिकेका हकप्रद शेयर बोलकबोलमा | स्वदेशी लघुवित्तको मंसिर २० देखि र नयाँ नेपालको आजदेखि मंसिर २० गतेसम्म विक्री खुल्ला
काठमाडौं । दुई लघुवित्तका नबिकेका हकप्रद शेयर बोलकबोल लिलामबाट विक्री गरिने भएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको नबिकेको १ लाख ३ हजार कित्ता र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणतर्फको नबिकेको ६२ हजार ५ कित्ता हकप्रद शेयर बोलकबोल लिलामबाट विक्री गर्ने भएको हो ।
नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको नबिकेको उक्त हकप्रद शेयर कम्पनीले आजबाटै विक्री खुला गरेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्थाले नबिकेको हकप्रद शेयर यही मंसिर २० गतेदेखि लिलाम विक्री खुला गर्ने भएको छ ।
स्वेदशीले गत असोज २३ देखि कात्तिक २६ गतेसम्म चुक्ता पूँजीको सत्प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । हकप्रद शेयर आवेदनका लागि सर्वसाधारणले न्यूनतम १०० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले बताएको छ ।
आवेदनका लागि एनआईसी एशिया क्यापिटल बबरमहल तथा स्वदेशी लघुवित्तको केन्द्रयी तथा शाखा कार्यालयहरूबाट मंसिर २८ गतेसम्म आवेदन दिन पाइनेछ ।
बुधबार दोस्रो बजारमा ६३० रुपैयाँमा कारोबार भएको संस्थाको शेयर एक वर्षको अवधिमा अधिकतम १९५० देखि न्यूनतम ३२५ रुपैयाँमा कारोबार भएको छ । हकप्रद शेयर सकारेसँगै संस्थाको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले नबिकेको सर्वसाधारण समुह तर्फको १७ हजार २६० कित्ता र संस्थापक समुहतर्फ ८६ हजार ९३ कित्ता हकप्रद शेयर मंसिर २० गतेसम्म बिक्री खुला राख्नेछ ।
संस्थाले गत साउन २७ गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको २५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो ।
बोलपत्र पेश गर्दा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १०० कित्ता र अधिकतम संस्थापकतर्फ ८६ हजार ९३ कित्ता र सर्वसाधारणतर्फ १७ हजार २६० कित्तासम्मको लागि आह्वान गर्न सकिनेछ ।
बोलपत्र निवेदनका लागि एनएमबी क्यापिटल नागपोखरी, एनएमबी बैंकका शाखा कार्यालयहरू पोखरा, विराटनगर, नेपालगञ्ज, विरगञ्ज, सुर्खेत, वुटवल र धनगढीबाट पाइनेछ ।
हकप्रद शेयर सकारेसँगै संस्थाको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । दोस्रो बजारमा बुधवार ५२० रुपैयाँमा कारोबार भएको थियो । एक वर्षको अवधिमा अधिकतम ३३२८ रुपैयाँ र न्यूनतम बुधवार ५२२ रुपैयाँमा कारोबार भएको छ ।