कोरोना बीमा दाबी गरेका बीमितहरुले दाबी भुक्तानी वापतको रकम पाउने | अर्थमन्त्रालयले पठायो एक अर्ब रुपैयाँ
काठमाडौं । कोरोना बीमा दाबी गरेका बीमितहरुले दाबी भुक्तानी वापतको रकम पाउने भएका छन् । सरकारको दायित्वमा पर्न आउने रकम अर्थमन्त्रालयले निकास गरेपछि बीमितहरुले दाबी बापतको रकम पाउने भएका हुन् ।
अर्थमन्त्रालय स्रोतका अनुसार, सरकारको दायित्वमा पर्न आउने रकम मध्ये एक अर्ब रुपैयाँ निकास गर्ने निर्णय भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पनि अर्थमन्त्रालयबाट रकम निकास गर्ने निर्णय भएको जानकारी गराए ।
'अर्थमन्त्रालयले रकम निकास गर्ने निर्णय भएको भन्ने सुनेको छु । तर पत्र अहिलेसम्म पाएको छैन्,' उनले भने, 'मन्त्रालयबाट रकम आउने वित्तिकै भुक्तानी प्रकृया अघि बढ्छ ।'
कोरोना बीमा गरेका बीमितले लामो समयसम्म पनि दाबी भुक्तानी पाएका थिएनन्, सरकारले आफ्नो दायित्वमा पर्न आउने रकम निकास गरेपछि अब केही बीमितले दाबी भुक्तानी पाउनेछन् ।
कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यस भन्दा बढी दाबी परेमा सम्पुर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ ।
मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट गरी कुल ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । तर सरकारको दायित्वमा पर्न आउने रकम भने अहिलेसम्म निकास गरेको छैन् ।
बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । कुल दाबी रमक मध्ये ७६.५९ प्रतिशत अर्थात ११ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ सरकारले भुक्तानी गर्नुपर्ने देखिन्छ ।