मलेशियन कम्पनीले खायो हिमालयन बैंकको ४९ करोड | म्याक्स मनीलाई नेपालमा प्रतिबन्ध, राष्ट्र बैंकद्वारा डुबेको पैसा उठाउन पहल
काठमाडौं । नेपाली बैंकलाई करोडौं भुक्तानी नदिने मलेशियन रेमिट्यान्स कम्पनी म्याक्स मनीको कारोबार नेपालमा रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले उक्त कम्पनीले हिमालयन बैंकको ४९ करोड रुपैयाँ भुक्तानी नदिई बदमासी गरेको खुलेपछि कारोबारमा रोक लगाएको हो ।
राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरूलाई उक्त कम्पनीसँग कुनै पनि कारोबार नगर्न निर्देशनसमेत दिएको छ ।
म्याक्स मनीले हिमालयन बैंकसँग मिलेर नेपालमा रेमिट्यान्सको कारोबार गर्दै आएको थियो । ग्राहकबाट पैसा लिने तर बैंकलाई भुक्तानी गर्दैन थियो । कम्पनीले बदमासी गर्न थालेपछि राष्ट्र बैंकले पहिले पैसा लिएर मात्र भुक्तानी गर्न नेपाली बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको विस्तृत अध्ययन गर्दा म्याक्स मनीले बदमासी गरेको खुलेपछि कारोबारमा प्रतिबन्ध लगाएको हो । अब कुनै पनि नेपाली बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीसँग म्याक्स मनीले कारोबार गर्न पाउँदैन । म्याक्स मनीबाट डुबेको पैसा उठाउन राष्ट्र बैंकले पहल थालेको छ ।