सात भन्सार नाकामा प्रभु बैंकका काउण्टर, अर्को साताबाट सेवा दिँदै |
काठमाडौं । सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल–भारत सीमाका सातवटा भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर सञ्चालनमा ल्याउने भएको छ । काउण्टरबाट भन्सारले बैंकिङ कारोबार गर्नेसम्बन्धी सम्झौतासेमत भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा भन्सार विभागको तर्फबाट महानिर्देशक तोयम राया र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
बैंकले झापाको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्र्यालयहरूमा काउण्टर खोलेको हो । काउण्टरले अर्को साताबाट सेवा शुरू गर्नेछ ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा संचालनमा आएका भन्सार कार्यालयहरूको स्तरोन्नतिसँगै त्यस क्षेत्रमा आयात निर्यातमा बढोत्तरी हुन गई राजस्व संकलनको आँकडामा वृद्धि हुन जाने विश्वास लिइएको छ ।