चेम्बर एक्स्पो भोलिदेखि शुरू, १ सय ९० वटा स्टल रहने | यस वर्षको एक्स्पोको पार्टनर कन्ट्री म्यानमार
काठमाडौं । वर्षेनि मेलाको आयोजना गर्दै आएको नेपाल चेम्बर अफ कमर्शले यस वर्ष आगामी मंसिर १३ गतेदेखि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ । चेम्बरले निर्यात प्रवद्र्धन तथा वैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यले ५ दिनसम्म उक्त एक्स्पोको सञ्चालन गर्न लागेको हो ।
काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेलामा १ सय ९० वटा स्टल रहने आयोजकले बताएका छन् । ५ दिनसम्म चल्ने सो मेलामा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फसिर्नसिङ, होम अप्लायन्स, फेशन वेर एण्ड एसेसरिज, मोबाइल ग्याजेटस्, एफएमसीजीलगायतका स्टल रहनेछन् ।
मेलाको चौथो संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदानप्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइने चेम्बरले जनाएको छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य पनि उक्त प्रदर्शनीको रहेको छ ।
प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवद्र्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गरिने चेम्बरले बताएको छ । यस वर्ष म्यानमार एक्स्पोको पार्टनर कन्ट्री रहेको छ । मेलामा म्यानम्यारको म्यानम्यार उद्योग वाणिज्य महासंघको सहकार्यमा उद्योगी व्यवसायीहरूले सहभागिता जनाउनेछन् ।
मेलामा म्यानमार, चीन, पाकिस्तान, बंगलादेश, कोरिया, भारत, जापान तथा अन्य देशहरू सहभागी हुने आयोजकले जानकारी दिएको छ । साथै, मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ ।