काठमाडौंका ७० स्थानमा ‘स्मार्ट डस्टबिन’ राख्ने कार्य शुरु |
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन राख्न शुरु गरेको छ । कृष्ण सप्लायर्स प्रालिले प्रतिवटा ६ लाख रुपैयाँ पर्ने फोहर सङ्कलन गर्ने आधुनिक भाँडो मानिसको अत्यधिक चाप हुने स्थानमा राख्न शुरु गरेको हो ।
आवश्यकता र माग दुई सय स्थानका लागि भए पनि पहिलो चरणमा काठमाडौँका बढी र ललितपुरका केही स्थानमा भाँडो राख्ने तयारी गरिएको छ । अहिले माइतीघर मण्डल, बिजुलीबजार, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानमा स्मार्ट डस्टबिन राखिसकिएको छ ।
आगामी एक हप्ताभित्रमा पहिलोचरणमा राख्ने भनेजति ७० वटै स्थानमा राखिसक्ने सप्लायर्सले जानकारी दिएको छ । स्मार्ट डस्टबिन अत्याधुनिक हुनुका साथै यसले फोहर सङ्कलन मात्रै गर्दैन, रातको समयमा सडकमा हिँड्ने यात्रुलाई बत्तीमार्फत उज्यालो पनि दिन्छ भने यसबाट मोबाइल चार्जसमेत हुन्छ ।
चीनबाट ल्याइएको डस्टबिनको प्रभावकारिता हेरी दोस्रोचरणमा काठमाडौँ उपत्यकोका बाँकी स्थानमा र बाहिरी जिल्लाका मुख्य शहरमा पनि यसको प्रयोग विस्तार गरिने बताइएको छ ।
कुहिने र नकुहिने दुवै किसिमका फोहर राख्न मिल्ने ती भाँडोमा सङ्कलन भएको फोहर सम्बन्धित कम्पनीले प्रत्येक दिन टेकुमा लगेर व्यवस्थापन गर्नेछ ।