शिक्षकसँग वार्ता गर्न सरकारद्वारा पाँच सदस्यीय टोली गठन | टोलीमा चार जना सहसचिव सदस्य, प्रारम्भिक छलफल सम्पन्न
काठमाडौं । विभिन्न २६ बुँदे माग राख्दै आन्दोलनरत शिक्षक महासंघसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । शिक्षा सचिव खगराज बरालको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक महासंघको मागसम्बन्धी तत्काल छलफल र सम्बोधन गर्न मन्त्रीस्तरीय निर्णय गर्दै उक्त वार्ता टोली गठन गरेका हुन् ।
टोलीले शिक्षक महासंघसँग पहिलो चरणको प्रारम्भिक छलफलसमेत गरेको बताइएको छ । उक्त वार्ता टोलीमा सहसचिवहरू वैकुण्ठ अर्याल, बाबुराम पौडेल, सूर्यप्रसाद गौतम र कृष्णप्रसाद काप्री सदस्य रहेका छन् ।