प्रधानमन्त्रीद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको शुभारम्भ | कोक्रोमा नआउँदैदेखि अन्तिम अवस्थासम्मका लागि फलदायी कोष
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोक्रोमा नआउँदैदेखि अन्तिम अवस्थासम्मका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष भएको बताएका छन् । उनले सरकार नदेख्नेका लागि उक्त कोष गतिलो जवाफ भएको बताउँदै प्रश्न गरे, ‘मजदुरलाई सरकार कहाँ छ भनेर सोध्नुस्, दुःख पाएका जनतालाई सोध्नुस्, जवाफ पाउनुहुनेछ ।’ प्रधानमन्त्री ओलीले आज उक्त कोषको शुभारम्भ गर्दै उक्त भनाइ राखेका हुन् ।
उनले भने, ‘२५ वर्षअघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको छ, यसको परिकल्पना गर्दा धेरैले हामीलाई उडाउने गरेका थिए, तर आज आएर सार्थक भएको छ ।’ श्रमको सम्मानसहित नयाँ प्रणालीको थालनी गरिएको र उक्त कार्यक्रम बिरामी, आम्दानी भएका, नभएका सबैका लागि फलदायी हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भने, ‘केही दिनमा अब मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ छ ? बाटोमा धूलो उड्न छाडेको छ । सडक सफा गरिएको छ । सडक धोइएको छ । जता फक्र्यो त्यतै सरकार देखेपछि सरकार कहाँ छ भन्नेहरू चुप लाग्नुहुन्छ ।’
प्रधानमन्त्री ओलीले जनता निराश हुनुपर्ने कुनै कारण नभएको भन्दै सरकार जनताले देखाएको बाटोमा हिँड्ने दाबीसमेत गरे ।