चौतारी लघुवित्तको आईपीओ मंसिर १९ गतेदेखि खुल्दै | सर्वसाधारणले ५० देखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले यही मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले चुक्ता पूँजीको ६ करोड रुपैयाँबराबरका ६ लाख कित्ता साधारण शेयर जारी गर्न गत कात्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको हो ।
धितोपत्र बोर्डको स्वीकृतिपछि विवरणपत्र लिएर नेपाल राष्ट्रबैंक पुगेको लघुवित्तको विवरणपत्र राष्ट्रबैंकले गत बिहीवार स्वीकृत गरेसँगै लघुवित्तले आईपीओ निष्कासन मिति तय गरेको हो ।
स्वीकृत ६ लाख कित्ता शेयरमध्ये लघुवित्तले ९ हजार ३ सय कित्ता कर्मचारीका लागि र ३० हजार कित्ता म्युचुअल फण्डका लागि छुट्याएको छ । बाँकी ५ लाख ६० हजार कित्ता शेयरका लागि भने सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
सर्वसाधारणले उक्त कम्पनीको आईपीओका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयरका लागि आवेदन दिने अन्तिम दिन छिटोमा मंसिर २३ गते र ढिलोमा पुस १९ गतेसम्मका लागि तोकिएको छ । रुपन्देहीको वुटवल मुख्य कार्यालय रहेको उक्त लघुवित्तले गत आर्थिक वर्षमा १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो जुन प्रतिशेयर २०.०९ प्रतिशत हो ।