सरकारी सेना र विद्रोहीबीच भिडन्त हुँदा सिरियामा झण्डै २ सयको मृत्यु |

काठमाडौं । सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमानजिकै विगत तीन दिनयता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ । अमेरिकाको समर्थन प्राप्त सुरक्षा बलका ९२ जना सुरक्षाकर्मीहरू सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् । इस्लामिक स्टेट (आईएस) लडाकूहरूले गरेको आक्रमणमा परी उनीहरू मारिएको अनुगमनकर्ताहरूले सोमबार जानकारी दिएका छन् ।
भिडन्तका कारण अन्य ५१ जना आमनागरिक पनि मारिएको समाचारमा जनाइएको छ । यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सबैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरू मारिएको घटना हो । आईएस लडाकुद्वारा एसडीएफका सुरक्षाकर्मीहरू धेरै मारिएको सन् २०१५ पछिकै यो सबैभन्दा ठूलो घटना भएको सिरियाली मानव अधिकारवादी समूहका प्रमुख रामी अब्देल रहमानले बताएका छन् । उनका अनुसार ती घटनाहरूमा ६१ जना जिहादी विद्रोही पनि मारिएका छन् ।