मापसे गरी सवारी चलाउने महिलाले तोडे गतवर्षको रेकर्ड चार महिनामै | ३ सय ४१ महिला मापसेको फन्दामा
काठमाडौं । नेपालमा महिलाहरूले मादक पदार्थ सेवन र चुरोट पिउनुलाई हाम्रो समाजले निकै नै असहज र नराम्रो पनि मान्ने गरेको थियो । तर पछिल्लो समयमा महिलाहरूका लागि यी दुवै चीज कमन विषय भइसकेका छन् । हालै महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ ।
महाशाखाले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको बताएको छ । महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४७५ को तुलनामा चालू आर्थिक वर्षमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको संख्या बढेको पाइएको छ । आव २०७४७५ मा ३२६ महिलाले मापसेसम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । तर, चालु आवको चार महीनामै मापसे गरी सवारीसाधन चलाएका ३४१ महिला उक्त कक्षामा सामेल भएको महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।
उनले भने, ‘पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको संख्या ह्वात्तै बढेको छ, महिलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयोे ।’
लेन अनुशासनतर्फ आव २०७४७५ मा ३ हजार २ सय ५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालू आवको चार महिनामै ७ सय ५२ महिलाले उक्त कक्षा लिइसकेका छन् । आ.व. ०७४७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालू आवको चार महिनामा सो कक्षा लिने महिलाको संख्या दुई रहेको महाशाखाले जानकारी दिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौं उपत्यकामा मात्र झण्डै ८ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।