तीन वर्ष यताकै न्युन विन्दुमा सेयर बजार |
काठमाडौं । नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणाली प्रभावकारी हुन नसकेको भन्दै सोमबार शेयर बजारका लगानीकर्ताहरु अन्दोलनमा लागेका दिन नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से करिब ३ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । कारोबारमा सुधार आए पनि नेप्से भने ६.३५ अंकले ओरालो लागेको छ ।
२०७२ साल पुस २३ गते ११६४.१४ विन्दुमा रहेको नेप्से त्यसपछिका दिनहरुमा क्रमशः बढ्दै १८८१ अंकको ऐतिहासिक रेकर्ड कायम गर्दै तल झरेको थियो । त्यसपछि पहिलोपटक त्योभन्दा कममा झरेको हो । बजारको यो गिरावटलाई बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको लगानीयोग्य पुजीको अभाव, बढ्दो नगद लाभांशको प्रवृत्ति र नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा आएको खराबीलाई मुख्य कारणको रुपमा हेरिएको छ ।
सोमबार कारोबारमा आएका १० उपसमूह मध्ये दुई सूचक सकारात्मक छन् भने बाँकी आठ नकारात्मक बने । अन्य समूह सबै भन्दा धेरै २।२७ अंकले र फाइनान्स ०.८१ अंकले बढेको छ ।
सबैभन्दा धेरै निर्जीवन बीमा समुहमा ८९.३ र जीवन बीमा समुह ६७.०५ अंकले गिरावट आएको छ । यस्तै माइक्रोफाइनान्स १५.१६, होटल १३.३, विकास बैंक ५.७६, हाइड्रोपावर ५.४२, बैंकिङ्ग ४.८३ र उत्पादन तथा प्रशोधन ३.७६ अंकले नकारात्मक रहे ।
एनएमबि बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको २ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै ग्लोबल आइएमई बैंकको एक करोड ४१ लाख, निर्धन उत्थानको एक करोड २३ लाख, एनटीसीको एक करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
एभरेष्ट बैंक र प्रभु बैंकको पनि कारोबार रकम एक करोड रुपैयाँ बराबरको भएको छ भने अन्य कुनै कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।
यस दिन निर्धान उत्थानका लगानीकर्ताहरुले सबैभन्दा धेरै ४.४८ अंकले कमाएका छन् । यस्तै प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य ३.९६, नाडेपको ३.८४, एनएमबि सुलभ फण्डको इकाई मूल्य ३.५३, र नागरिक लगानी कोषको शेयरमूल्य ३.४४ प्रतिशतले बढेको छ ।
अपि पावर, संग्रिला विकास बैंक, समता माइक्रोफाइनान्स, आईसीएफसी फाइनान्स र रिडी हाइड्रोपावरको शेयरमूल्य दुई प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
आज सबैभन्दा धेरै गुमाउनेमा नेपाल सेवा लघुवित्त रहेको छ । लघुवित्तको शेयरमूल्य ५.६५ प्रतिशतले घटेको छ । यस्तै एनएमबी म्युचुअल फण्डको ५.६३, मिर्मिरे लघुवित्तको ४.३५, नेशनल हाइड्रो पावरको शेयरमूल्य ४.०५ प्रतिशतले गिरावट आएको छ ।
यसैगरी शिखर इन्स्योरेन्स, महिला सामुदायिक लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, सुर्या लाइफ इन्स्योरेन्स, आरएसडीसी लघुवित्त, स्वरोजगार लघुवित्तको शेयरधनीहरुले ३ प्रतिशतले गुमाएका छन् ।