आगामी मार्चमा लगानी सम्मेलन हुने |
काठमाडौं । नेपाल सरकारले आगामी मार्च महिनामा लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन आयोजनाका लागी अर्थमन्त्री युवराज खतिवडा संयोजकत्वमा ११ सदस्यीय लगानी परामर्श समिति गठन गरेको छ । समितिले बोर्डको गतिविधिलाई बलियो बनाउन सघाउने छ ।
लगानी प्रवद्र्धन बोर्डको आइतबार सम्पन्न ३३ औं बैठकले वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । यसअघि सन् २०१७ मा आयोजना गरिएको लगानी सम्मेलनमा भारतलगायत विभिन्न मुलुकले १३ अर्ब ७४ करोड अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जनाएका थिए ।
बैठकले डोल्मा फण्ड म्यानेजमेन्टलाई मुस्ताङको लोमान्थाङमा १५० मेगावाट र चिलिमे रसुवामा १२५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागी सर्वेक्षण गर्ने स्वीकृति प्रदान गर्न बोर्डलाई निर्देशन समेत दिएको छ ।